काठमाडौँ । विज्ञहरूले पछिल्लो समय शहरी क्षेत्रमा देखिएको बढ्दो प्रदुषणका कारण मानिसहरूको जीवन कष्टकर बन्दै गएकाे बताएका छन् ।
नेपाल पिएचडी एसाेसिएसनको आयोजना र युएसएआइडी तथा एफएचआई३६० काे प्रयाेजनमा काठमाडाैँमा भएकाे ‘स्वच्छ वायुका लागि एक साथ’ भन्रे अन्तक्रिया कार्यक्रममा बोल्दै बिज्ञहरूले पछिल्लो समय धूलोमा मिसिएका सुक्ष्म कण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण उपत्यकामा श्वास–प्रश्वास, आँखा, छाला र क्यान्सर सम्बन्धी रोगका प्रमुख तीन कारक बनेकाे बताएका हुन् ।
नास्टका पूर्व उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले काठमाडाैँमा वायुमण्डलको धूलोधूवाँका कण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कम हुनुपर्नेमा ५ देखि १५ गुणा बढी र श्वास–प्रश्वासमा संक्रमण गराउने कीटाणु कोलिफर्म युनिट मापदण्डभन्दा पाँच गुणा बढी सीएफयू रहेको बताए ।
उनले पछिल्लो समय गाउँबाट मान्छेहरू बसाईँसरेर आउने क्रम बढ्दो रहेको र यसले गर्दा शहरी क्षेत्रमा अबको केही समयमा खुल्ला जमिन देख्न मुस्किल हुने दाबी गरे ।
उनले भने,“पछिल्लो समयको तंथ्याक हेर्ने हो भने, सन् १८०० मा ३, १९५० मा ३०, २००० मा ४७, २००७ मा ५०, २०१८ मा ५५.३ प्रतिशत मान्छे शहरी क्षेत्रमा आएका छन् । त्यस्तै सन् २०३० मा ६० र २०५० मा ७८ प्रतिशत मान्छे शहरी क्षेत्रमा आउने अनुमान रहेको छ ।’’
एसाेसिएसनकी अध्यक्ष डा. रेजिना मस्केले अधिकांश सहरी भागहरूमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा र राष्ट्रिय मापदण्डभन्दा तीन गुणा बढी धूलोका कणहरू हावामा मिसिएको तथ्यांकले देखाएको बताइन् ।
उनले अझै जाडोयाममा धूलोका कणहरू वायुमण्डलको तल्लो भागमै रहने, इँटाभट्टाले निकाल्ने धूवाँ, इँटा र बालुवा बोक्ने सवारीसाधन चौबीसै घण्टा गुड्ने, अत्यधिक ट्राफिक घनत्वका कारण छोटो दूरीमा समेत धेरै समय सडकमा बिताउनुपर्ने, सवारीसाधनहरू विशेष गरी सेता र राता नम्बर प्लेटका वाहनद्वारा निस्कने विषाक्त कालो एक महिनासम्म वायुमण्डलमा रहने जानकारी दिइन् ।
उनले केन्द्रीय सरकार र स्थानीय सरकारहरूका संयुक्त पहलमा नयाँ कार्ययोजना बनाइ वातावरण स्वस्थ बनाउनु र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई ख्याल गरी वातावरणको संरक्षण र सम्वर्द्धन गर्न नीतिगत, कानुनी, संस्थागत बन्दोबस्त गर्दै प्रदुषण नियन्त्रणका कार्यक्रमतर्फ क्रियाशीलता देखाउनु आवश्यक रहेको बताएकी छन् ।
कार्यक्रममा विज्ञहरूले सडक निर्माण कार्य भएका स्थानहरूमा समय–समयमा पानी छर्किएर धुलोका कणहरूलाई उड्न नदिने उपायहरू अवलम्बन गर्न सरकारले ध्यान दिन आवश्यक रहेको बताएका थिए ।
उनीहरूले स्थानीय तहमा नै खुला फोहोरहरू प्लास्टिक जन्य पदार्थलाई जलाउने कार्य तत्काल बन्द गर्नुपर्नेदेखि सबै तहबाट फोहरलाई कम्पोस्ट बनाउने, बायोग्यास बनाउने, पुनस् प्रयोग गर्ने तवरले अघि बढ्नुपर्नेमा जोड दिए ।
नवीकरणीय इन्धन र स्वच्छ उर्जा उत्पादनमा ध्यान दिंदै सौर्य, हावा जस्ता वैकल्पिक ऊर्जाको प्रयोग जति सक्दो बढाउनुपर्नेमा विज्ञहरूको भनाइ छ । त्यस्तै प्रदुषण नियन्त्रणका लागि अब सचेतनाले मात्र नपुग्ने उनीहरूले बताएका छन्। पछिल्लाे समय मानिसहरूले नीजि फाइदाकाे लागि वातावरणलाई हानी गराएकाे दाबी गरेका छन् ।
वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरू प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ।
हाल उपत्यकामा सवारी साधनको धुवाँ, सडकको धूलो र इँटाभट्टालगायतले वातारवरण प्रदुषण गरिरहेको विभागले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड सूचक तथ्याङ्कअनुसार काठमाडौँको प्रदूषण ह्वात्तै बढेको छ।
त्यस्तै कारनकी डा. हेमु काफ्लेले तराई क्षेत्रमा काठमाडौँमा भन्दा बढी वायु प्रदुषण रहेको जानकारी दिएकी थिइन् ।
कार्यक्रमको अन्त्यमा एसाेसिएसनका निवर्तमान अध्यक्ष डा. विष्णु प्रसाद गौतमले कार्यपत्र प्रस्तोता लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा समेत यस्ता जनचेतना कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
NEWS SOURCE: https://taksarnews.com/2023/09/17024/