काठमाडौँ । नेपाल पीएचडी एसोसिएसनको १७ औँ साधारण सभाले डा. सुन्दरी पोखरेललाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको छ। काठमाडौँमा सम्पन्न सभाबाट कार्यसमितिका अधिकांश पद यसपटक सर्वसम्मत रूपमा चयन भएका हुन्।
उपाध्यक्षमा डा. दिवस अमात्य, महासचिवमा डा। अलकबाबु प्रसाईं र सचिवमा डा. सारिका अमात्य निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धीद्वारा भएको चुनावमा डा. रामशरण थपलिया विजयी भएका छन्।
त्यसैगरी, कार्यसमितिको सदस्यमा डा. भोलानाथ ढकाल, डा. माला कुँवर खरेल, डा. भिष्म कार्की, डा। राजेन्द्रकुमार प्रधान, डा. रामानन्द पण्डित र डा. शान्तिकला सुवेदी चयन भएका छन्।
साधारण सभाले नीति निर्माण र राष्ट्रिय विकासका मामिलामा राज्यलाई आवश्यक सहयोग गर्न एसोसिएसन तयार रहेको प्रस्ताव पारित गरेको छ। विदेशमा अध्ययनरत वा कार्यरत नेपाली प्राज्ञिक जनशक्तिलाई मुलुकमा फर्काई योगदान दिलाउनेतर्फ सरकारले पहल गर्नुपर्ने सुझाव पनि सभामा राखिएको छ।
यस वर्षदेखि एसोसिएसनले सुरु गरेको ‘एनपीए एक्सिलेन्स अवार्ड’ पहिलोपटक मरणोपरान्त डा. यादवप्रसाद पन्तलाई प्रदान गरिएको छ। पन्त नेपालको पहिलो पीएचडी हुन्। अवार्ड पन्तका परिवारको तर्फबाट राधेश पन्तले ग्रहण गरेका थिए।
वि.सं.२०८२ मंसिर १० बुधवार १०:५४ मा प्रकाशित